रोजगारी गुमाएका परिवारलाई वैकल्पिक व्यवस्था गर्न प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड–१९ का कारण गरिएको निषेधाज्ञाले रोजगारी गुमेका परिवारलाई राहत र खाद्यान्नलगायत वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले रोजगार विहिन श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल पनि गरेका छन् ।

‘कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भिर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु । साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न उनको अपिल छ । प्रचण्डले संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको आरोप पनि लगाएका छन् ।

‘पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्दत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो’, प्रचण्डले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री