पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल नै विजयी, कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरिन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रप्रसाद बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट) मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरू गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।

जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जीत भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।

नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छाया पर्न नदिने प्रतिबद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री