काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । केही दिनअघि मात्रै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने संशोधित अनुमान गरेसँगै आइएमएफले भने नेपालको आर्थिक वृद्धिदर करिब ३ प्रतिशत नै पुग्ने प्रक्षेपण गरेको हो ।
यस्तै, आइएमएफले आगामी आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ४.२ र ५.२ प्रतिशत पुग्ने अनुमान गरेको छ । आइएमएफले विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक, २०२१)को प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
यस्तै आईएमएफका अनुसार, सन् २०२१ मा छिमेकी मुलुक भारतको अर्थतन्त्र १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने पूर्वानुमान गरेको छ । जबकी सन् २०२० मा भारतको अर्थतन्त्रमा ८ प्रतिशतको संकुचन आएको छ भने चिनियाँ अर्थतन्त्र सन् १९९२ यताकै सबैभन्दा कम २.३ प्रतिशतमा सिमित रहेको छ ।




