गगन थापा भन्छन्- तथ्यमा टेकेर बहस गरौं‚ प्रधानमन्त्रीज्यू चमत्कार कहाँ भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगन थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले तीन वर्षको अवधिमा काम कति गर्‍यो भन्ने विषयमा तथ्य, तथ्याङ्कमा बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् । प्रधानमन्त्रीले बाहिर ‘मिथ्यांक प्रस्तुत गर्दै’ मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।

‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,’ थापाले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भने, ‘म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसदमा आएर बाल कविता वाचन गर्ने ?’

प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिंडेको सांसद थापाले आरोप समेत लगाए । प्रतिनिधिसभाको आजको बैठकमा थापाले भने, ‘संसद्लाई छलेर, भागेर होइन, यहींभित्र आएर छलफल गरौं । शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीं गर्नुहोला ।’

थापाले उद्घाटन गर्दै हिंड्ने प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन समय नमिलेको भन्दै आपत्ति जनाए । उद्घाटनको ‘तमासा’ नदेखाउन उनले वर्षौदेखि थला परेका आयोजनालाई पूरा गर्नतर्फ ध्यान दिन आग्रह गरे । दर्जनौं विधेयक पास गर्नुपर्ने, रोकिएका काम अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको ध्यान नगएको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री