सरकारले एसिड खरिद-बिक्रीमा गर्‍यो कडाइ

काठमाडौं । औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भएसँगै कानुनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाइ गर्न थालिएको हो ।

यसअघि, फितलो कानुनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला बिक्री-वितरण हुँदा अध्यादेशमार्फत कडा कानुनी व्यवस्थासहित त्यसलाई लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सोही कानुनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आ-आफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के कति परिमाणमा, के कस्तो रसायन आवश्यक पर्दछ, सोको स्पष्ट विवरणसहित सात दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेस गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन निकासी, पैठारी, भन्डारण, ओसारपसार, बिक्री-वितरण, प्रयोग तथा विसर्जन कार्यलाई नियमनका लागि उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले गएको असोज १२ गतेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ तथा यही १६ गते नेपाल सरकारबाट तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत गरिसकेको छ ।

उक्त नियमावलीमा खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था छ ।

नियमावलीको नियम छ (२) मा प्रचलित कानुनबमोजिम दर्ता भएको वा इजाजतप्राप्त गरेको कुनै पनि उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्वस्वीकृतिका लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ ।

विवरणमा आवश्यक पर्ने रसायनको नाम, रसायन संकेत र आवश्यक वार्षिक परिमाण उल्लेख गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

काठमाडौं । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक …

प्रतिकृया दिनुहॊस