काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडनले अब आफ्नो लक्ष्य राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो १०० दिनमा २० करोड मानिसलाई कोरोनाको खोप दिनु रहेको बताएका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।
बाइडेनले भने, ‘ आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु र त्यो हो हामी आफ्नो कार्यकालको पहिलो १०० दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ।’ उनले यो लक्ष्य महत्वाकांक्षी रहे पनि आफूहरु सफल हुने बताए ।
उनले भने, ‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्य भन्दा दुई गुणा धेरै । तर कुनै अर्काे देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’
करिब एक घण्टासम्म चलेको पत्रकार सम्मेलनमा अमेरिकामा हाल विधमान स्वास्थ्य संकटबारे कुनै पनि प्रश्न नगरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । हफिङ्टन पोष्टकी वासिङटन ब्यूरो प्रमुख अमान्डा तर्केलले लेखेकी छन्, ‘आश्चर्य लाग्ने कुरा कोरोनाभाइरसबारे कसैले पनि एउटा प्रश्न गरेनन् ।’




