के साँच्चै ‘माओवादी केन्द्र’ले नाम फेर्छ ?

काठमाडौँ । सर्वोच्चले तत्कालीन एमालेसँगको एकता बदर गरिदिएपछि माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको छ । आइतबारबाट सुरु नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नाम नै फेर्न प्रस्ताव गरिएको हो ।

यसअघि मंगलबार र बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पनि उपस्थित सदस्यहरुले भने पार्टीको नाम फेर्नुपर्ने बारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए । तर, के नाम राख्ने र कहिले राख्ने भन्ने औपचारिक निर्णय हुन भने बाँकी रहेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

के नेकपा माओवादी केन्द्रले साँच्चै जान फेर्छ त ? भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले विभिन्न ठाउँबाट नाम परिवर्तनका लागि सुझाव आएको बताए । ‘स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा पनि पार्टीको नाम नै फेर्न विषयले प्रवेशमा पाइसक्यो,’ उनले अभने, ‘सुझाव आउनेक्रम जारी रहेकाले नाम परिवर्तनबारे औपचारिक निर्णय थप छलफलपछि मात्रै लिन्छौं ।’

के होला नयाँ नाम ?
श्रेष्ठका अनुसार ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा सुझाव आएको छ ।

माओवादी केन्द्रले यसअघि पनि नाम परिवर्तन गर्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि नै ३ पटक यो पार्टीले नाम फेरेको इतिहास छ । शान्ति प्रक्रियापछि नेकपा माओवादी रहेको यो पार्टी नारायणकाजी श्रेष्ठसँगको एकतापछि ०६५ सालमा एकीकृत नेकपा माओवादी बनेको थियो । एनेकपा माओवादीमा विभिन्न साना वाम घटकलाई प्रवेश गराउँदै ६ जेठ ०७३ मा नेकपा माओवादी केन्द्र नाम राखिएको थियो ।

केन्द्रीय कमिटी बैठक बस्दै
यसैबीच बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा)मा केन्द्रीय कमिटी बैठक बस्दैछ । आइतबार पनि बसेको बैठकले आज निरन्तरता पाउने भएको हो । बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्नेलगायत ६ प्रस्तावमा प्रस्तुत भएका छन् । आज ती प्रस्तावमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री