काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव नवलपरासीमा सार्बजनिक भएका छन् ।
पछिल्लो दुई बर्षदेखि भूमिगत भएका विप्लव सरकारसँग सहमति भएसँगै आज काठमाडौँमा हुने विशेष समारोहलाई सम्बोधन गर्न आउनेक्रममा नवलपरासीमा सार्बजनिक भएका हुन् ।
विसं २०७५ फागुन २८ मा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव विप्लव सार्वजनिक भएका छन् ।
सार्वजनिक भएसँगै महासचिव विप्लवले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।
जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आएको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
आज अपराहन्न २ बजे राष्ट्रिय सभागृहमा हुने सहमतिको घोषणा सभालाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव दुवैले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहॊस