चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ ।
जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।
बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गरे ।
ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए ।
सहज र प्रभावकारी ढङ्गले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिए । प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए ।
प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताए ।




