काठमाडौँ । कोभिड-१९ सँग जुध्नको लागि बेलायतलाई लाखौँ सहयोग जुटाएका क्याप्टेन सर टम मूरको निधन भएको छ । उनले कोभिड-१९ महामारी र जारी लकडाउनका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि दशौं लाख पाउण्ड चन्दा उठाएका थिए ।
उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि ब्रिटेनको सरकारी अस्पताल एनएचएसलाई दिएका थिए । सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को मारेर ठूलो रकम चन्दा उठाए । उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन् ।
१ सय वर्षका मूरलाई सास फेर्न समस्या भएपछि गत साता अस्पतालमा भर्ना गरिएको थियो । उनले अन्तिम श्वास अस्पतालमा लिएको पारिवारिक श्रोतले जानकारी दिएको बीबीसीले जनाएको छ ।
टोमको निधनप्रति बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘उहाँको योगदान अतुलनीय छ। यतिमात्रै होइन यो संसारलाई नै नयाँ तरिकाले बाँच्न सिकाउनु भएको छ ।’
यस्तै उनकी छोरीले भनेकी छन्, ‘अन्तिम क्षणमा पनि खुशी र दुःखका कुरा सँगै बसेर बुवासँग गरेकी थिएँ । तर उहाँको रिपोर्ट पोजिटिभ आयो ।’




