काठमाडौँ । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भएको विष्फोटमा २२ जनाको मृत्यु भएको छ । नयाँ सरकारका सदस्य लिएर साउदी अरबबाट आएको विमान एयरपोर्टमा ल्याण्ड हुनासाथ विष्फोट भएको यमनका सरकारी अधिकारिहरुले बताएका छन् ।
मृत्यु हुनेहरुमा सहायक कर्मचारी र केहि सरकारी अधिकारी सामेल रहेको बताइएको छ । यमनका प्रधानमन्त्रीले उनका क्याबिनेटका सदस्य ठिक रहेको बताएका छन् । यमनका सूचनामन्त्रीले हुति बिद्रोहीले हमला गरेको आरोप लगाएको बिबिसीले उल्लेख गरेको छ ।
२०१५ देखि शुरु भएको गृहयुद्धका कारण यमनको अवस्था नाजुक बनेको छ । हुति बिद्रोहीले देशका अधिकांश स्थानमा कब्जा गरेपछि र साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बूमन्सुर हादीलाई देश छोडेर भाग्न बाध्य पारेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमन युद्धमा हस्तक्षेप गरेको थियो ।
यसपछि यमनको अवस्था झन् नाजुक भएको हो । यस युद्धमा अहिलेसम्म यमनमा एक लाख १० हजार भन्दा बढीको मृत्यु भएको छ ।




