बैंकिङ्ग कसुरमा महालक्ष्मी ब्याङ्कका प्रबन्धकसहित तीन जना पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्व प्रबन्धकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भएर चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भएर ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ ।

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाएर अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र अहिलेसम्म सावाँ ब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनीहरुले बैंकलाई सात करोड ४२ लाख ६१ हजार रुपैयाँ नोक्सानी पुर्‍याएको जनाइएको छ ।

बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ्ग कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा ऋणीलाई गएको मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बु रहेको प्रहरीले जनाएको छ । –राससबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री