‘आईएमई भरोसा कोष’: ७९ जनालाई जनही ५० हजार सहयोग

काठमाडौं । आईएमईले कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्पनीले कोभिड १९ बाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले ‘भरोसा कोष’ स्थापना गरेको थियो । कोषबाट कम्पनीले ७९ जनालाई जनही ५० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकालले उक्त सहयोग हस्तान्तरण गरे । आइएमई पे वालेटमार्फत रकम भुक्तान दिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । ७९ जनालाई आर्थिक सहयोग उपलब्ध गराइएकामा ७ जना प्रत्यक्ष रुपमा सहभागी भएका थिए । अन्यलाई पुस मसान्तभित्र सहयोग रकम उपलब्ध गराइने आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

कम्पनीले मध्यपूर्व एवं खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली जो कोभिड १९ का कारण ज्यान गुमाएका छन्, तिनका परिवारलाई आर्थिक सहयोग गरेको जनाएको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले श्रमका लागि विदेश गएका धेरै नेपालीको कोभिड १९ का कारण मृत्यु भएको र आश्रित परिवारलाई सानो भए पनि सहयोग गरेको बताए ।

यस्तै ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कम्पनीले श्रमका लागि विदेश गएका र कोभिडको चपेटामा परेको नेपालीको दुःखमा मल्हम लगाउन कम्पनीले सहयोग गर्ने जमर्को गरेको बताए । आईएमईले पहिलोपटक रोजगारीका लागि विदेश गएका र कोभिडका कारण मृत्यु भएका नेपालीको परिवारलाई सहयोग गर्न भरोसा कोष स्थापना गरेर आर्थिक सहयोग उपलब्ध गराएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री