काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) दिउँसो बस्दै छ ।
यसअघि बसेको सचिवालय वैठकमा नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि सचिवालयका वहुमत सदस्यले तीन दिन पर्खिने निर्णय गरेका थिए । ओलीलाई वैठकमा उपस्थित हुन दिइएको तीन दिन आज सकिएसँगै सचिवालय वैठक बस्न लागेको हो ।
आज सचिवालय वैठक बस्ने भनिए पनि अध्यक्ष ओली उपस्थित हुने, नहुने भन्ने अनिश्चित नै छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको थियो । पुनः अर्काे बैठक आज (शनिबार) दिउँसो १ बजे बस्ने निर्णय गरिएको थियो ।
तर आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा बिहान करिब ९ बजेसम्म अनिश्चित नै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आजको वैठकमा प्रधानमन्त्री सहभागी हुने, नहुनेबारे केहि जानकारी नभएको बताउँछन् । अहिले आफू घरमै रहेको जानकारी दिंदै उनले भने, ‘भरे १ बजेतिर नै थाहा होला ।’
नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ । एक–अर्काबीच गम्भीर आरोप–प्रत्यारोपसहित बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अघि सारेका दुई अध्यक्ष आ–आफ्नो रणनीतिलाई बलियो बनाउन सक्रिय हुँदै आएका छन् । दुई अध्यक्षलाई मिलाउन दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय हुँदै आएका छन् ।
हिजो दिनभर नेताहरु सहमतिका लागि छलफल गरे पनि प्रयास सफल हुन सकेन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अनौपचारिक छलफल गरेर निचोड निकाल्नुपर्ने र केही समयका लागि सचिवालय बैठक रोक्नुपर्ने छन् भने कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहेका छन् ।




