कोरोना संक्रमितलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि

इलामर । इलामको इलाम नगरपालिका–७ नम्बर वडा कार्यालयले स्थानीय कोरोना सङ्क्रमितलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन तथा वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।

विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताए । त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

कोरोनाको कुनै पनि औषधि पत्ता लाग्न नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ । इलाम नगरपालिका–७ इलाम जिल्लाभरिमै बढी सङ्क्रमित रहेको वडा हो । इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको संख्या बढी छ ।

वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताए । साथै कोरोना सङ्क्रमित बाहिर हिंडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारबाहीका लागि सिफारिस गर्ने समेत बताइएको छ । रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री