काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।
बैंकले यसअघि प्रस्ताव गरेकाे ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७७ को खण्ड (ख) लाभांश स्वीकृतिसम्बन्धी बुँदा नं. ११ को प्रावधानसम्म हुने गरी पुनः लाभांश संशोधन गरी प्रस्ताव गरिएको बैंकले जानकारी गराएकाे छ ।
यससँगै बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी संशोधन प्रस्ताव गरेको छ । कार्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त संशोधन प्रस्ताव गरेको हो ।
प्रस्ताव अनुसार बैंकको बोनसदर वृद्धि भएको छ भने नगद लाभांशदर घटेको छ । यसअघि बैंकले कार्तिक ३ गते मात्रै चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।
प्रतिकृया दिनुहॊस