कोरोनाबाट बच्न भनेर आफूखुसी औषधि सेवन नगरौं

काठमाडौं । विश्वभर फैलिएको ‘कोभिड-१९’बाट नेपालमा पनि संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधिहरु परीक्षणकै चरणमा छन् तर, तिनको पूर्ण विकास भइसकेको छैन ।

अहिले कोरोनाबाट बच्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन भन्दै आफूखुसी औषधि तथा जडीबुटी सेवन गर्ने क्रम बढिरहेको छ । यसरी प्रयोग हुने गरेका औषधि र जडीबुटी कति प्रभावकारी हुन्छन् भन्नेबारे प्रष्ट जानकारी नभए पनि सर्वसाधारणले कोरोना कहरका बीच विश्वासका साथ जडीबुटी किन्ने र प्रयोग गर्ने गरेको पाइन्छ ।

तर विज्ञहरुले भने कोरोनाबाट जोगिने आसमा जथाभावी औषधि प्रयोग गर्दा उल्टै ज्यान जोखिममा पर्ने चेतावनी दिएका छन् । कुनै पनि औषधि सेवन गर्दा के के कुरामा ध्यान पुर्‍याउनुपर्छ त ? जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका सुझाव यस्ता छन् :-

  • सेल्फ मेडिकेसन अर्थात् आफूखुसी औषधि सेवन नगरौं

कोरोना महामारी तीव्र गतिमा फैलिएसँगै भ्रम र हल्ला पनि बढिरहेका छन्। महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यही मनोविज्ञानमाथि व्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ।

-विशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाका लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एवं उदासीपनामा प्रयोग हुने लगायतका औषधि आफैंले किनेर खानेजस्ता जोखिम काम भइरहेका छन्। यी औषधि अस्पताल भर्ना भएका बिरामीले सम्बन्धित विज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ। अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ।

–रुघाका लागि एन्टिकोल्ड, ज्वरोका लागि पारासिटामोल तथा जीउ दुख्ने समस्यामा प्रयोग गरिने फ्लेक्सन ( Ibuprofen+Paracetamol) यीमध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्यून भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ। एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिलिग्राम मिसाइएको हुन्छ। यीमध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आवश्यक भए लिनुपर्छ। आफैं सेवन गर्नु हुँदैन। त्यस्तै खोकीको प्रकृतिअनुसारको मात्र औषधि चिकित्सकसँग परामर्श गरेर खानुपर्छ।

–कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन। तर युट्युब हेरेर वा पसलमा किनेर आफैं कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै। झन् रोगसँग लड्ने क्षमता घट्दछ। चिकित्सकसँग जाँच गराएर मात्र एन्टिबायोटिक सेवन गर्ने/नगर्ने निर्णय हुन्छ।

–इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका भिटामिन सेवन गर्नेको संख्या पनि धेरै छ। यसले पनि हानी गर्छ। विभिन्न अध्ययनले देखाएका छन्– सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आवश्यकता पर्दैन। शरीरमा तत्वको कमी भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बी–१२ तथा जिंकले फाइदा गर्छन्।

–इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्वेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन। जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ। आयुर्वेद औषधिमा साइड इफेक्ट कम हुन्छ। यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सकरआयुर्वेद स्वास्थ्यकर्मीको सुझावमा मात्र सेवन गर्नुपर्छ। त्यस्तै औषधि किन्दा औषधि व्यवस्था विभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनीमा बनेका मात्र किन्नुपर्छ। यस्ता औषधि सस्ता एवं उपयोगी हुन्छन्। अरूको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभावी जडीबुटीको सेवन गर्न हुँदैन।

–प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु वा छाड्नु हुँदैन।

–हरेक औषधिले सही तरिकाले चिकित्सकको सल्लाहबमोजिम सेवन गरे अमृतको काम गर्छन् भने आफैंले किनेर तथा चिकित्सकको सल्लाहबिना सेवन गरे विषको काम गर्न सक्छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री