कोरोनाबाट झापा र सप्तरीका संक्रमितको निधन

दमक । कोरोना भाइरस सङ्क्रमणबाट झापा दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका-९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।

गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

राजविराज- सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका-४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्स्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार-पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।

सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ । यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए । यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका …

प्रतिकृया दिनुहॊस