काठमाडौंमा कोरोनाको उच्च जोखिम, कसरी जोगिने ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको छ । उपत्यकामा सबैभन्दा धेरै संक्रमणको जोखिम भएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

देशभरका ठूला सहरमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । त्यसमध्ये पनि उपत्यकामा संक्रमण दर उच्च रहेको छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले बताए ।

उनले संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन् । ठूला सहरमा संक्रमण बढ्दै जाँदा अस्पतालमा शैय्या अभाव हुन थालेको भन्दै सरकारले सकेसम्म घरमै सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड पालना गरेर बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा भार अत्याधिक बढ्दै जाँदा अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शैय्या पाउन छाडेको बताए । बजार र पसलमा कोरोनालाई बिर्सिएर भीडभाड गरेको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरे ।

कोरोनाबाट बच्न के गर्ने ?
–कोरोनबाट बच्न सरसफाइ पहिलो प्राथमिकता हो । समयसमयमा हात धुनु र खोक्दा वा हाछिउ गर्दा टिस्यु प्रयोग गर्ने र त्यसलाई डस्टबिनमा राख्ने गर्नुपर्छ ।

–हात धुनका लागि साबुन प्रयोग गर्ने वा स्यानिटाइजर लगाउने। धोएपछि हात लुगामा नपुछी सफा कपडाले पुछ्नुपर्छ ।

–सकेसम्म घरबाट बाहिर ननिस्कने अत्यावश्यक काममा निस्कँदा नाक र मुख छोप्ने गरी मास्क लगाउने ।

–बजारमा किनेर ल्याएको कुनै पनि कुरा काँचै नखानुहोस। झोलिलो कुरा खानुहोस् । मासु राम्ररी पकाएर मात्र खानुहोस् ।

–आफूबाहेक अरु सबैलाई कोरोना संक्रमण भएको हुनसक्छ भनेर आफू सचेत बन्नुहोस् । सकेसम्म साथीभाइसँग हात मिलाउने काम बन्द गर्नुहोस् ।

–कुनै काम गरिसकेपछि घरिघरी साबुनपानीले हात धुनुहोस् । हातले आँखा, नाक र मुखमा नछुनुहोस् ।

–कोरोनाको लक्षण देखिएमा चिकित्सकको सल्लाहमा परीक्षण गर्नुहोस् ।

–संक्रमण भइहालेमा आफू सुरक्षित बसेर अरुलाई कोरोना संक्रमणबाट जोगाउनुहोस् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री