सुरक्षाकर्मी, बैंक कर्मचारीसहित बारा र पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

पर्सा । सुरक्षाकर्मी, बैंक कर्मचारीसहित बारा र पर्सा जिल्लामा थप ४५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २६ र बाराका १९ जनामा कोरोना संक्रमण फेला परेको हो ।

संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारी समेत छन् । बिहीबार प्रयोगशालामा ५८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् ।

संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ ।

वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं. ९, १०, ११, १४ र २२ मा २–२ जना र वडा नं. ८, १५ र २१ मा १–१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये एक जनाको ठेगाना खुलेको छैन ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा २ जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ मा २ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री