काठमाडाैं । सिदार्थ बैंकले बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ ।
यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिदार्थ बैंकको कुनै पनि एटिएम वा एनइपिएस सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् ।
यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने छ ।
प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथ साथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् ।



