वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । ७८ वर्षीय सरावगीको काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारकै क्रममा गए राति १२ः५ बजे निधन भएको हो ।
गत साउन १४ गते नगर प्रमुख सरावगीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका बुवा चिरञ्जीवीलालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौं लगिएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाइ साउन २४ गते काठमाडौ स्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा भदौ २ गते गरिएको पीसीआर परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका थिए ।
तर कोरोनालाई जिते पनि मुटु र मृगौलामा जटिल समस्या भएका कारण उनको ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । स्वर्गीय चिरन्जीवीलाल सरावगीको सोमबार दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।
वीरगञ्जमा बिक्रम संवत २००० सालमा जन्मिएका चिरन्जीवीलाल सरावगी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदका केन्द्रीय अध्यक्ष, लायन्स क्लवका गभर्नर थिए । यस्तै धेरै सामाजिक संघ संस्थामा आवद्ध थिए । उनका दुई छोरा र एक छोरी छन् ।




