बोक्सी आरोपमा एकल महिलामाथि निर्घात कुटपिट

महोत्तरी । बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् ।

केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन् । पूजा सकिएपछि गाउँका आंशिक यादव बिरामी परेका थिए । उनले तन्त्रमन्त्र गरेकाले आंशिक बिरामी परेको भन्दै शुक्रबार राति कुटपिट गरिएको हो । ‘बोक्सी भन्दै राति घरमा आएर कुटपिट गरे,’ उनले भनिन् ।

आंशिक बिरामी परेपछि उनका नातेदार कृष्ण यादवसहित परिवारका सबै सदस्य आएर कुटपिट गरेको पीडित महिलाले बताइन् । ‘लात्ती र मुक्काले हाने । कपाल तानेर घिसारे । तलाई गु खुवाउँछु भन्दै घिसारेर लग्दै थिए । मेरा छोराहरू र अरू गाउँले आएर बचाए,’ उनले भनिन् ।

उनी कुटपिटबाट बेहोस भएकी थिइन् । उनलाई शुक्रबार राति नै जनकपुरस्थित जानकी हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनको हेल्थकेयरमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

वडाध्यक्ष मदन राय यादवले दुःखद घटना भएको बताए । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘बोक्सीको आरोप लगाएर कुटपिट गरिएको छ । यो जघन्य अपराधको घटनामा दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।

बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना लगत्तै आरोपीलाई पक्राउ गरिएको डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

पीडित महिला अस्पतालमा रहेको र जाहेरी दिन नसकेकाले प्रहरी प्रतिवेदनकै आधारमा बोक्सीको आरोपसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । अहिले कृष्ण यादवमाथि मात्रै मुद्दा दर्ता भएको छ । पीडितले पछि जाहेरी दिएमा थप किटान गरिएका व्यक्तिमाथि मुद्दा चलाइने उनले बताएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after