तथ्यांक भन्छ- परीक्षण घटेकाले संक्रमित पनि घटे, संक्रमण उच्चबिन्दुमा पुगेको बेलादेखि परीक्षणको दर ओरालो लाग्यो

काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ । ८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमित पनि घटेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै परीक्षण ५ देखि ११ असारसम्मको एक साताको अवधिमा भएको थियो । त्यो साता ४४ हजार तीन सय १९ नमुना परीक्षण भएका थिए, जसमा तीन हजार दुई सय सात संक्रमित देखिए ।

त्यसको अर्को साता १२ देखि १८ असारसम्म ३८ हजार २० नमुना परीक्षण गर्दा तीन हजार तीन सय ५७ संक्रमित देखिएका थिए । ८ जेठदेखि १५ साउनसम्मको अवधिमा धेरै संक्रमित देखिएको त्यही साता हो ।

१२ असारयता सरकारले परीक्षणको दायरा घटाउँदै ल्याएको छ । २ देखि ८ साउनसम्मको सातामा पुग्दा २७ हजार दुई सय १७ नमुना मात्रै परीक्षण गरिए, जसमा आठ सय ९७ संक्रमित देखिए ।
९ देखि १५ साउनसम्मको पछिल्लो सातामा परीक्षणको दायरा बढाएर ३३ हजार एक सय २६ पुर्‍याउँदा संक्रमित देखिने क्रम पनि बढेको छ । यो साता एक हजार तीन सय ६ संक्रमित देखिएका छन् ।

पछिल्लो समय संक्रमणबाट दैनिकजसो मृत्यु हुन थालेको छ । सघन उपचार कक्ष आइसियूमा भर्ना हुने गम्भीर संक्रमितको संख्या पनि बढेको छ । बिहीबारसम्म देशभर संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । ५२ जनाको मृत्यु भएको छ । २६ संक्रमित आइसियूमा उपचाररत छन् । संक्रमितहरू यति धेरै संख्यामा आइसियूमा भर्ना भएको यो पहिलोपटक हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नौजना, नारायणी अस्पताल वीरगन्जमा पाँच, लुम्बिनी प्रादेशिक अस्पतालमा तीन, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपालगन्ज मेडिकल कलेजमा दुई–दुई तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक–एक संक्रमित आइसियूमा उपचाररत छन् ।

यसमध्ये लुम्बिनीमा एकजना भेन्टिलेटरमा राखिएका छन् । टेकु अस्पतालमा पनि एकजनालाई अक्सिजन (सिप्याप) दिएर राखिएको निर्देशक डा. सागर राजभण्डारीले बताए ।

आइसियूमा भर्ना भएका अधिकांश संक्रमित दीर्घरोगी छन् । यस्ता बिरामीमा चाँडै श्वास–प्रश्वासको समस्या देखिने हुँदा आइसियूमा जाने संक्रमितको दर बढ्न थालेको मन्त्रालयले जनाएको छ । चिकित्सकहरूले लकडाउन खुलेपछि संक्रमण समुदायस्तरमा पुग्दा दीर्घरोगीहरू प्रभावित भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार श्वास–प्रश्वास, मुटुरोग, मधुमेह, मिर्गौला रोग, उच्च रक्तचाप, क्यान्सरलगायतका दीर्घरोगीहरूमा रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरू कोरोनाको उच्च जोखिममा छन् ।

नियमित औषधि–उपचार पनि नपाउँदा यस्ता बिरामीलाई थप जोखिम हुन्छ । संक्रमण भइहाले उनीहरूलाई आइसियूको सहायता चाहिने चिकित्सकहरू बताउँछन् । नेपालमा ११ लाख ५३ हजार दुई सय ५३ जना दीर्घरोगी छन् ।

नेपालमा मृत्यु भएका ५२ मध्ये २९ जनामा गम्भीर प्रकारको दीर्घरोग थियो । २४ जना ५० वर्षभन्दा माथिको उमेर समूहका थिए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार यसअघि अधिकांश संक्रमितमा कोरोनाको लक्षणसमेत देखिने गरेको थिएन ।

पछिल्लो समय लक्षणसहितका संक्रमित देखिन थालेका छन् । डब्ल्युएचओका अनुसार कोरोना संक्रमणबाट संसारभर मृत्यु भएकामध्ये १३ दशमलव दुई प्रतिशत मुटुरोग, नौ दशमलव दुई प्रतिशत मधुमेह, आठ दशमलव चार प्रतिशत उच्च रक्तचाप, आठ प्रतिशत श्वास–प्रश्वास र सात दशमलव ६ प्रतिशत क्यान्सरपीडित छन् ।

उपत्यका छिरेका ३४ सयको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण

लकडाउन खुला गरेपछि उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले गत ८ साउनदेखि नाकाहरूमा स्वाब संकलन गर्न थालेको छ । उपत्यका छिरेका तीन हजार चार सय ७३ को स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नागढुंगा, फर्पिङ र साँगा नाकाबाट उपत्यका छिर्नेहरूको स्वाब संकलन गरिरहेको छ । बिहीबारसम्म आठ हजार चार सय एकजनाको स्वाब संकलन गरिएको छ । मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार नागढुंगाबाट चार हजार सात सय १० नमुना संकलन भएकोमा दुई हजार तीन सय दुईको रिपोर्ट आइसकेको छ ।

त्यस्तै फर्पिङबाट संकलन गरिएका एक हजार दुई सय ८२ नमुनामध्ये सात सय ४१ र साँगाबाट संकलित दुई हजार चार सय नौ नमुनामध्ये चार सय ३० परीक्षण भएको छ । नागढुंगाबाट भित्रिएकामध्ये तीनजनामा, फर्पिङबाट भित्रिएकामध्ये दश र साँगाबाट आएकामध्ये ११ जनामा संक्रमण देखिएको छ ।

स्वाब संकलन टिमका सदस्य बलराम गौतमका अनुसार नाकबाट मात्रै स्वाब संकलन गरिएको छ । ‘नाकबाट लिएको स्वाबको नतिजा घाँटीको भन्दा दोब्बर राम्रो आउने भएकाले हामीले सबैजनाको नाकबाट मात्रै स्वाब संकलन गरेका छौँ,’ उनले भने ।

मन्त्रालयले तीनवटै नाकाबाट १० हजारजनाको स्वाब संकलन गर्ने लक्ष्य लिएको छ । गौतमका अनुसार सरकारले बनाएको कोरोना परीक्षणको मापदण्डबाहिर गएर नाकामा स्वाब संकलन गरिएको हो । संक्रमण समुदायमा गए–नगएको बुझ्न र भावी योजना बनाउन यसले महत्वपूर्ण सहयोग पुग्ने उनले बताए ।

पछिल्लो २४ घण्टामा तीन संक्रमितको मृत्यु, उपत्यकामा ४८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा उपत्यकामा ४८ संक्रमित थपिएका छन् । काठमाडौंमा ४१, भक्तपुरमा पाँच र ललितपुरमा दुईजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या तीन सय ९०, ललितपुरमा ९१ र भक्तपुरमा ५५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देशभर दुई सय ७४ नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । देशभरका आइसोलेसनमा पाँच हजार दुई सय ४७ संक्रमित उपचाररत छन् । १४ हजार दुई सय ४८ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङ सुनबर्सी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्सा वीरगन्ज महानगरपालिकाका ७० वर्षीय पुरुष र सोही क्षेत्रका ६८ वर्षीय पुरुष रहेका छन् ।

पर्साका ७० वर्षीय पुरुष मुटु तथा मधुमेहको बिरामी थिए । वीरगन्जकै अर्का मृतकमा मिर्गौलाको समस्या थियो । उनलाई झाडापखाला पनि लागेको थियो । मोरङमा मृत्यु भएका पुरुषको अन्य समस्या खुलेको छैन । प्रदेश १ मा संक्रमणबाट यो पहिलो मृत्यु हो ।

पछिल्लो २४ घण्टामा ६ हजार तीन सय चार नमुनाको पिसिआर परीक्षण भएको छ । अहिलेसम्म तीन लाख ६४ हजार ६ सय ४८ नमुनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा १३ हजार दुई सय एक जना बसिरहेका छन् ।

प्राविधिक सचिव नहुँदा कोरोना नियन्त्रण चुनौतीपूर्ण

६ महिनाअघि प्राविधिक सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयमा सचिव पद खाली छ । २२ पुसको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।
तर, सरकारले मन्त्रालयमा प्रशासनतर्फको सचिव पठाएर प्राविधिक सचिवको दरबन्दी रिक्त राखेको छ । कोरोना महामारीका वेला प्राविधिक सचिव नहुँदा कोभिड नियन्त्रणमा चुनौती थपिएको विज्ञहरू बताउँछन् ।

सरकारले १२ तहका सिनियर चिकित्सकमध्येबाट एक जनालाई स्वास्थ्यसचिव बनाउने प्रावधान छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, सिसिएमसीमा रहेका डा. महेन्द्र श्रेष्ठ र प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल गरी हाल स्वास्थ्यमा तीन जना विशिष्ट श्रेणीका छन् । उनीहरूमध्ये पोखरेल सिनियर हुन् ।

स्वास्थ्य क्षेत्रबारे जानकार नहुँदा सचिव लक्ष्मण अर्याल र स्वास्थ्यकर्मीबीच विवाद हुन थालेको छ । प्रमुख विशेषज्ञ डा. पोखरेलले जोखिम बढेको भन्दै परीक्षण बढाउनुपर्ने बताउँदै आएका छन् ।

तर, सचिव अर्याल परीक्षण बढाएर राज्यले धान्न नसक्ने भन्दै अझै घटाउने पक्षमा उभिएका छन् । स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार सरकारले स्वास्थ्यमा प्राविधिक सचिवको तत्काल व्यवस्थापन नगरे गम्भीर समस्या देखिन सक्छ । नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ओलीले रविलाई बिचमा घुसाएर बनाउन चाहेको ‘मानवढाल’ मात्र हो : गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बिचमा …

प्रतिकृया दिनुहॊस

This will auto close after