चेपाङ समुदायमाथि गरिएको ज्यादतीको विरोधमा चितवनमा निकालिएको जुलुस ।

सांसदहरू भन्छन्- ‘चेपाङ बस्तीमा पञ्चायतकालको झल्को दिने ज्यादती’

चितवन । मुलुकमा गणतन्त्र आइसक्दासमेत पञ्चायतकालको झल्को दिने गरी हात्ती लगाएर चेपाङ बस्ती भत्काइएको भन्दै संसदीय समितिमा सरकारको आलोचना भएको छ । बुधबार संसद्को कृषि समिति बैठकमा सदस्यहरूले निन्दा गर्दै घटनालाई क्रुर र अमानवीय भएको बताएका छन् ।

चेपाङहरूको घरमा आगो लगाइएको घटनाले निरंकुश पञ्चायती व्यवस्थाको झल्को दिएको समिति सदस्य भूमि त्रिपाठीले बताए । उनले भने, ‘निरंकुश पञ्चायतको याद आयो । त्यतिवेला झुपडीमा आगो लगाइदिएको पढ्थ्यौं, सुन्थ्यौं । हात्तीले घर भत्काइएको पनि सुनिन्थ्यो ।

अहिले झन्डै दुई तिहाइ कम्युनिस्टको सरकार हुँदा र मध्यवर्षामा त्यस्तै घटना भयो । प्रधानमन्त्री, सम्बन्धित मन्त्री र सबैको निधारमा कलंकको टीका लागेको छ । घर भनेको एटेच बाथरुम, पार्किङ भएको ठूलो बिल्डिङ पो हो त भन्ने पनि लाग्न सक्ला । तर, झुपडी नै चेपाङको घर हो ।’

समिति सदस्य घनश्याम खड्काले गाँस, वासको बन्दोबस्त नभई अर्काको घरमा आगो लगाउनु निन्दनीय भएको बताए । पञ्चायतकालको घटना सम्झँदै उनले भने, ‘मोरङको झोरा काण्ड धेरैलाई थाहा छ । त्यतिवेला झुपडीहरूमा आगो लगाएर नागरिकको उठिवास पारिएको थियो । अहिले त्यस्तै भयो । आगो नै लगाउनुपर्ने बाध्यता किन आइलाग्यो ? यसबाट आतंक सिर्जना भयो ।’

समिति सदस्य शान्ता चौधरीले घटना खेदजन्य रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘मेरो घर पनि कुनै वेला सामुदायिक वनभित्रै थियो । मेरो घरमा पनि आगो लगाइएको थियो । त्यतिवेला वनका कर्मचारीहरूले घर जलाइदिँदा म आफै जलेझैं भएको थियो । अहिले चितवनमा घर जलाउँदा मैले मेरै विगत सम्झिएकी थिएँ ।’

समिति सदस्य राधा ज्ञवालीले घटना नेपाली इतिहासमा सरकारका लागि कलंक भएको बताइन् । राजबहादुर बुढा क्षत्रीले सहर, गाउँमा लोकतन्त्र आए पनि जंगलमा अझै पनि लोकतन्त्र नपुगेको भन्दै आपत्ति जनाए । ओनसरी घर्तीले घर भत्काइनु सबै हिसाबले गलत भएको टिप्पणी गरेकी थिइन् । शान्तिमाया तामाङ पाख्रिनले उक्त घटनालाई क्रुर र अमानवीय रूपमा व्याख्या गरिन् ।

समितिमा वनमन्त्री शक्ति बस्नेतले मन्त्रालयको फेरि पनि घटनाको बचाउ गर्ने कोशिस गरे । उनले अध्ययन गर्न पठाइएको टोली घटनास्थल अध्ययन गरेर काठमाडौं फर्किसकेको र प्रतिवेदनमाथि काम भइरहेको बताए ।

उनले भने, ‘त्यहाँ आठ परिवारको बसोवास छ । अर्काे ठाउँमा स्थानान्तरण भइसकेका मानिसहरू फेरि त्यो ठाउँमा गएर दोहोरो बसोवास गर्न खोजिएको भन्ने पनि हामीलाई सुरुमा रिपोर्टिङ भएको थियो । तर, अर्काे ठाउँमा नबसिएको रहेछ ।’

आफू देशको विभिन्न गाउँहरू घुमेकाले घर कस्तो हुन्छ भन्नेबारेमा जानकारी भएको उनले बताए । ‘धादिङको रुवी भ्यालीदेखि सुदूरपश्चिमसम्म पैदल हिंडेको छु । अक्सर म धेरै गाउँहरू पैदलमै पुगेको छु । ठाडो, तेर्साे बाटो म हिंडेको छु । त्यसकारण घरको परिभाषा, गोठको परिभाषा के हो भन्नेबारेमा अस्पष्ट छुइनँ । घरको परिभाषा सापेक्षिक नै हो । जुन ठाउँमा स्थायी चुलो बालिएको हुन्छ, पहिलो सर्त त्यही हो ।’

उनले भने, ‘आकार कत्रो छ भन्ने कुराले प्रभाव पार्ने होइन । घर के हो, गोठ के हो भन्नेबारेमा मेरो कुनै अस्पष्टता छैन । घर र गोठको विषयमा अहिले नजाऊँ, मैले त अहिलेसम्म प्रारम्भिक रिपोर्टको आधारमा मात्रै बोलिरहेको छु । कानुन समितिमा पनि मैले प्रारम्भिक रिपोर्टको आधारमा विवरण पेस गरेको थिएँ ।’

घर, गोठ जे भए पनि जुन विधि र समयमा प्रयोग भएको छ त्यो दुःखद र अनुपयुक्त भएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘निकुञ्जका वार्डेन र सहायक वार्डेनलाई पनि मन्त्रालय बोलाइएको छ । त्यस्तै, घटनाका बारेमा प्रतिवेदन एक–दुई दिनभित्रै तयार हुने र बाँकी स्टेप चाल्छौं । गल्तीको ढाकछोप हुँदैन । प्रतिवेदन तयार हुँदै छ अध्ययन गर्छौ र त्यसको आधारमा हामी ‘स्टेप’ लिन्छौं ।’

राजकुमारको शव त्रिवि शिक्षण अस्पतालमै
चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सैनिकको कुटपिटका कारण मृत्यु भएका राप्ती नगरपालिका २ का राजकुमार चेपाङको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमै छ । १ साउनमा सेनाले कुटपिट गरेका उनको ७ साउनमा मृत्यु भएको थियो ।

मृत्यु भएको पाँचौं दिनमा विभिन्न सहमतिपछि मात्र उनको परिवार शव पोस्टमार्टमका लागि तयार भएको थियो । विश्वसनीय पोस्टमार्टमका लागि राजकुमारको शव ११ साउन राति त्रिवि शिक्षण अस्पताल लगिएको थियो । १२ साउन दिउँसो पोस्टमार्टम भयो । तर, परिवारले शव बुझ्न मानेनन् ।

‘दाहसंस्कार भएपछि मुद्दा फितलो बनाउने र दोषी सार्वजनिक नहुने शंकाले शव नबुझेका हौँ,’ घाइतेमध्येका पूर्ण चेपाङले भने । प्रशासनमा गरिएको सहमति कार्यान्वयनपछि मात्रै शव बुझ्ने उनले बताए ।

घाइते र प्रत्यक्षदर्शीसँग बयान
नेपाली सेनाले कुटपिटबाट घाइते भएकाहरूसँग बुधबार बयान लिएको छ । भण्डारा डढुवास्थित प्रहरीचौकीमा घाइतेलाई बोलाएर सेनाले बयान लिएको घाइतेमध्येका एक पूर्ण चेपाङले बताए । यस घटनाका घाइते भएका चार पुरुष र घटनाका वेला सँगै रहेका दुई महिलासँग बयान लिएको हो ।

राप्ती नगरपालिका–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले पनि बयान लिइएको पुष्टि गरे । घटनाको १४ दिनपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सैनिकले नियन्त्रणमा लिई पिटेका भनिएका युवाको घाउजाँच भएको छ । १ साउनको घटना ७ साउनमा मात्र सार्वजनिक भएको थियो । नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस