सेनाले निकुञ्‍जमा पिटेका युवकको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जका सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटाइबाट बुधबार मृत्यु भएको पीडित परिवारले बताएका छन् ।

घटनाको विषयमा छानविन शुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । मृतक युवकका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा उजुरी गरेका छन् ।

‘पीडित पक्षले निकुञ्जका सैनिकको कुटपिटबाट युवकको मृत्यु भएको बताएका छन्,’ सिडिओ भट्टराईले भने, ‘घटनाको सत्यतथ्य हामी बुझ्दै छौं ।’ राजकुमारसहितका सात जना साउन १ गते घुँगी खोज्न निकुञ्जभित्रको खोलामा गएको बेला निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेको आरोप पीडित पक्षको छ ।

कुटपिटको चोटले बिरामी परेका राजकुमारको उपचारको क्रममा मृत्यु भएको हो । राजकुमारसँगै गिरफ्तार उनका साथी सन्तलाल प्रजाले नियन्त्रणमा लिएपछि सेनाले आफूहरुलाई निर्धात कुटपिट गरेको बताएका छन् ।

युवकको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन् । चितवनका प्रहरी प्रमुख एसपी पानतीराज गुरुङले पनि प्रहरीले घटनाको छानविन शुरु गर्ने जानकारी दिएका छन् ।

‘मृतक युवकका आफन्त हिजो साँझ हामीकहाँ आउनु भएको थियो,’ एसपी गुरुङले भने, ‘हिजो रात परेकाले थप कारबाही अघि बढ्न सकेन। आज उहाँहरु आएपछि उजुरी दर्ता गर्नेसहितका काम अघि बढ्छ ।’ सेनाले भने उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकार गरे पनि कुटपिट नगरेको दाबी गरेको छ ।

पीडित परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटेर दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

प्रतिकृया दिनुहॊस