काठमाडौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न, बाढी बस्तीमा पस्यो

काठमाडौं  । लगातारको भारी वर्षाका कारण काठमाडौं उपत्यकामा धेरै स्थान डुबानमा परेका छन् । भक्तपुरको हनुमन्तेदेखि मनोहरासम्म अनि ललितपुर तथा काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

बाढी र पानी निकासको राम्रो व्यवस्था नहुँदा विभिन्न बस्ती जलमग्न बनेका छन् । त्यसैगरी नदी किनारका बस्तीमा बाढीले सर्वसाधारणलाई दुःख दिइरहेको छ । हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुइँतलाका सामान डुबाएका छन् भने मानवीय क्षति नभए पनि भौतिक सामग्री डुबानमा परेका छन् । हनुमन्तेको बाढी बस्तीमा पस्दा बाराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिएका छन् ।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिरसँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल, उहाँका दर्जनौँ घर डुबानमा परेका छन् । बाराहीस्थानमा पुलको मुख नै थुनिएपछि स्थानीय र जनप्रतिनिधिले पुलमुनि थनिएका सामग्री निकालेका थिए ।

भक्तपुर वडा १ का सल्लाघारी क्षेत्रमा रहेको बस्ती र इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पुर्याएको जानकारी दिए । यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् । बालकोटको चारदोबाटो क्षेत्रभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् ।

बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिए ।

बालकोट वडा नं २ हाइटका बस्ती समेत डुबानमा परेका छन् । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बङ्गलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिए । कौशल्टार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ ।

त्यस्तै सूनपा वडा नं ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डुबानमा परेको छ । कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए । यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको र भौतिक क्षति भएको उनले जानकारी दिए ।

गणेधारा टोल सुधार समितिका अध्यक्ष अनिता पाण्डेले घट्टेखोलामा लगाएको पर्खाल समेत भत्काएको र अचानक बस्तीमा पानी पसेपछि आवतजावत गर्नसमेत रोकिएको बताए । बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौंको भौतिक क्षति भएको उनको भनाइ छ ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पु¥याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् । हनुमन्ते करिडोर बनेको क्षेत्रमा विगतका वर्षमा डुबानमा परे पनि यस वर्ष डुबानमा परेन ।

उपत्यकाका हनुमन्ते खोला, धोबीखोला, विष्णुमती, बागमती, सुन्दरीघाट लगायतमा पानीको बहाव उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वर्षा हुने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस