काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने भएको छ । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्न लागेको हो । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर तथा इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अब राजधानीको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य तथा वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका हुन् ।
साे सम्झौता अनुसार वल्र्ड लिकंले ६० दिन भित्रै सबै काम सकेर निशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याउनेछ । यसमा महानगरपालिकालाई कुनै पनि आर्थिक दाइत्व पर्ने छैन । आर्थिक तथा प्राविधिक पक्ष सबै वल्र्ड लिकंले व्यवस्था गर्ने समझदारीमा उल्लेख गरिएको छ ।
यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् भने वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ ।




