पर्वत : दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो ।

तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका थिए । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिएका थिए ।

त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री