चितवन । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि शिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै शिल गर्ने निर्णय गरेको हो ।
यस अवधिमा अत्यावश्यकीय सवारी साधन बाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नग रप्रमुख ढकालले बताए ।
समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइने छैन ।
यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसल बाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने-गराउने निर्णय भएको छ ।
यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगर प्रमुख ढकालले बताए । माडीमा पहिलो पटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।




