लहान । एक १५ वर्षीया किशोरीलाई सामुहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको हो ।
गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि जबरजस्ती करणी गरेर फरार भएको पीडितको उजुरीका आधारमा ती चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका चारै युवक र पीडितको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
त्यसैगरी भक्तपुर नगरपालिका–२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–४ स्थायी घर भइ भक्तपुर नपा वडा नं २ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।
फूपू फूपाजुसँग बस्दै आएकी १३ वर्षीयालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए ।
घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।




