काठमाडौं । पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक समूहले वजीरमाथि गोली हानेपछि घाइते अवस्थामा तत्काल उनलाई अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा शनिबार स्थानीय अस्पतालमा मृत्यु भएको हो।
वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए। खैबर पख्तूनख्वा प्रान्तको वजिनामा बस्दै आएका उनको घरको नजिकै अज्ञात व्यक्तिहरूले उनलाई गोली हानी घाइते पारेका पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ।
डनका अनुसार गोली लागे लगत्तै वजीरलाई नजिकैको अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई इस्लामाबादस्थित अस्पतालमा सारिएको थियो।
वजीरका काका, मुहम्मद अली वजीरले परिवारका तर्फबाट शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले भनेको छ, ‘वजीरलाई रातिको समयमा गोली हानिएको छ। उनको शरीरमा तीनवटा गोली लागेको छ।’
प्रहरीले वाना पुलिस स्टेशनमा वजीरमाथिको आक्रमण सम्बन्धमा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ। २०१७ मा वानाको नजिक लडाकूहरूसँगको झडपमा वजीरको परिवारका सात सदस्य मारिएका थिए । एजेन्सी




