काँग्रेसले भन्यो- गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउ

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरी सरकारले लकडाउनको समयावधि थप गरेको विषयलाई स्वाभाविक रूपमा लिँदै यस सङ्क्रमणलाई परास्त गर्न कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा पनि बढाउनुपर्ने जनाएको छ ।

लकडाउनका बाबजुद कैयौँ देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिँदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन काँग्रेसले सरकारसँग अपिल गरेको छ ।

काँग्रेसले वक्तव्यमार्फत वर्तमान परिस्थितिको गम्भीरताबमोजिम आवश्यक मेडिकल सामग्रीको तत्काल आयात गर्न, परीक्षणको दायरा थप विस्तार गर्न र थप सतर्कताका लागि सरकार र समुदायको ध्यानाकर्षण गराएको छ ।

अत्यावश्यक मेडिकल सामग्री खरीद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा ढिलाइ भइरहेको विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । “पारदर्शी ढङ्गले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको विषय हो । तर कोरोनाबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौँ”, उनले भने ।

कोरोना परीक्षण गर्ने केन्द्रहरु विस्तार गरिनु सकारात्मक भएको तर र्यापिड टेष्टको परिणाम भने विश्वव्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा नेपालले पिसिआर विधिको व्यापकता बढाउन जरुरी रहेको काँग्रेसको भनाइ छ ।

सोही बमोजिमको क्षमता अभिवृद्धि गर्न प्रवक्ता शर्माले अपिल गरेका छन् । “नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परीक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेको र त्यसबाट सङ्क्रमणले व्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ ।

बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न”, प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक परिवारका दुईजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन काँग्रेसले अनुरोध गरेको छ । बेलायतबाट आएको २८ दिनपछि परीक्षण नेगेटिभ देखिनु तर नेगेटिभ देखिएका व्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, नेपालका सन्दर्भमा गम्भीर बिषय भएको उल्लेख गर्दै उनले भनेका छन्, “सङ्क्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कैयौँलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ सङ्गठनले केही अघि नै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ ।”

लकडाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करीब दुई लाख नेपाली अव्यवस्थित रुपमा स्वदेश प्रवेश गरेका र प्रवेश गरेकामध्ये १५ प्रतिशतभन्दा कम मात्रै क्वारेन्टाइनमा बसेका देखिन्छन् । यस्तो अवस्थामा विदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेन्टमा बसेका व्यक्तिमा सङ्क्रमण देखिएको स्थिति झैँ बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्ने भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।

त्यसैले कोरोना परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसमक्ष पुर्याउन अनिवार्य रहेको प्रवक्ता शर्माले बताएका छन् । उनले गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपिल गरेका छन् ।

रौतहटमा सङ्क्रमण देखिएका युवक लकडाउनको बेला पैदल हिँडेर नेपाल प्रवेश गरेको देखिएकाले सरकारले नै व्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने विषयबाहेक अब नाकामा थप गम्भीरता जरुरी भएकोमा काँग्रेसले जोड दिएको छ ।

काँग्रेसले लकडाउनको समयमा पनि कोही लुकिछिपी प्रवेश गरेका या गर्नसक्ने देखिएको भन्दै सबै नाकामा नेपाल र नेपालीको रक्षाका लागि अब चौबिसै घण्टा विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री