लकडाउन : नेपालका ११ लाख ५३ हजार दीर्घरोगी उपचार समस्यामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन भन्छ, ‘श्वासप्रश्वास, मुटु रोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायतका दीर्घरोगबाट पीडित बिरामीहरू कोरोनाबाट उच्च जोखिममा छन् ।’ यता, नियमित औषधि–उपचार पनि नपाउँदा यस्ता दीर्घरोगी अर्को जोखिममा परेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट मृत्यु भएकामध्ये १३.२ प्रतिशत मुटुरोग, ९.२ प्रतिशत मधुमेह, ८.४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७.६ प्रतिशत क्यान्सरपीडित छन् ।

रोगप्रतिरोधी क्षमता कमजोर हुने यो समूहका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले सचेत गराइरहेका छन् । तर, नेपालमा भने नियमित औषधि–उपचार नपाएर उनीहरूको जीवन जोखिममा परेको छ ।

स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगी छन् । त्यस्तै, ०७५–७६ मा चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्यांक थियो । महाशाखाका तथ्यांक अधिकृत वीरबहादुर रावल गर्भवतीको अवस्था हरेक वर्ष उस्तै हुने गरेको बताउँछन् ।

रावलका अनुसार देशभर उच्च रक्तचापको समस्या भएका बिरामी मात्रै पाँच लाख ७५ हजार १२ जना छन् । तर, लकडाउनका कारण उनीहरूले नियमित सेवन गर्नुपर्ने औषधि नै पाउन छाडेका छन् । अधिकांश औषधि पसल बन्द हुँदा समस्या भएको छ । बिरामीलाई स्वास्थ्य संस्था वा औषधि पसल पुग्न यातायातको समेत समस्या छ ।

मिर्गौला रोगीका समस्या उस्तै छन् । सातामा दुई पटक नियमित डायलाइसिस गराउनुपर्ने कतिपय बिरामी लकडाउनका कारण अस्पताल पुग्न सकेका छैनन् । बल्लतल्ल अस्पताल पुग्नेहरूलाई पनि आवश्यक स्वास्थ्य सामग्री अभाव भएको भन्दै अधुरो डायलाइसिस गरेर फर्काइदिने गरिएको छ ।

विश्वभर कोभिड–१९ बाट मृत्यु
–मुटुरोगी– १३.२५
–मधुमेह– ९.२५
–उच्च रक्तचाप– ८.४५
–श्वासप्रश्वास– ८५
–क्यान्सर–७.६५

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले एक हप्ता लकडाउनको अवधि बढाए मिर्गौला रोगीले नियमित सेवन गर्ने औषधि पाउनै छाड्ने र बिरामी बचाउनै समस्या पर्ने बताए ।
‘समस्या देखिन थालिसकेको छ ।

अहिले हामीले बिरामीलाई जुन औषधि भेटिन्छ, त्यही खानु भनेर अनुरोध गरेका छौँ । बचाउनकै लागि औषधि परिवर्तन गरेर भए पनि खान भनेका हौँ,’ डा. काफ्लेले भने, ‘भारत र नेपालले लकडाउन बढाए भने मिर्गौला रोगीको उपचारमा थप समस्या हुन्छ, बचाउनै मुस्किल पर्छ ।’

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की दीर्घरोगीले अत्यावश्यक नियमित सेवा छुटाउनै नहुने बताउँछन् । ‘औषधि थप्ने मात्रै हो भने चिकित्सकसँग फोनबाटै परामर्श लिन पनि सकिन्छ, तर नआई नहुने बिरामी आउनैपर्छ,’ उनले भने, ‘नियमित औषधि र उपचार छुटाए त्यही रोगले ज्यान जान सक्छ । यो अवस्थामा कोरोनासँग बच्न अस्पताल आउँदा उच्च सतर्कता भने अपनाउनु पर्छ ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल क्यान्सर, मुटु र मिर्गौलाका बिरामीले नियमित खानुपर्ने औषधि बजारमा अभाव हुन थालेको बताउँछन् । ‘क्यान्सरका सबैजसो औषधि भारतबाट आउने हो, अहिले रोकिएको छ ।

मौज्दात भएका औषधि पनि सकिन थालेका छन्,’ डा. बरालले भने, ‘भारतबाट कहिले आवतजावत खुल्ने यकिन छैन । यसले क्यान्सरपीडितको उपचारमा विकराल अवस्था आउँछ । हामी पनि कहिलेसम्म अस्पताल जाने भन्ने अन्योल छ । उपत्यकाबाहिरबाट आउनुपर्ने बिरामी पनि लकडाउनले रोकिएका छन् । शल्यक्रियादेखि केमो गर्न समेत समस्या आएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिरामीको उपचारमा कुनै अवरोध नगर्न अस्पताल र औषधि पसललाई भनिएको बताउँछन् । ‘अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन गर्न र औषधि पसलहरू खोल्न सबैलाई आग्रह गरिएको छ,’ डा. देवकोटाले भने, ‘दीर्घरोगका बिरामीलाई चौबिसै घन्टा सेवा दिन अस्पतालहरू तयार हुनुपर्छ ।

प्रदेश र स्थानीय तह पनि तयार हुनुपर्छ ।’ तर, अस्पताल पुग्नै बिरामीलाई समस्या परिरहेको छ । जसोतसो गरेर अस्पताल पुगेकाले पनि उपचार नपाएको अवस्था छ । सरकारले समन्वय र कडाइ गरेको छैन ।
मौज्दात औषधि सकिँदै छ, दीर्घरोगी औषधिबाट वञ्चित हुँदै छन् : डा. राजेन्द्र बराल
अध्यक्ष, सार्क फेडरेसन अफ अंकोलोजिस्ट
क्यान्सर, मुटु, मिर्गौलाका बिरामीले नियमित खानुपर्ने औषधि बजारमा अभाव हुन थालेको छ । क्यान्सरका सबै औषधि आउने भारतबाटै हो, लकडाउनले अहिले रोकिएको छ । मौज्दात औषधि पनि सकिन थालेका छन् ।

कहिले आवतजावत खुल्ने यकिन छैन । लकडाउनले बाहिरबाट उपत्यका आउनुपर्ने बिरामी पनि रोकिएका छन् । नियमित उपचारमा भएको अवरोधले थप समस्या ल्याउने देखिएको छ । यसले क्यान्सरपीडितको उपचारमा विकराल अवस्था आउँछ । हामी पनि कहिलेसम्म अस्पताल जाने अन्योल छ । शल्यक्रियादेखि केमोथेरापी गर्न समेत समस्या आएको छ । नयाँ पत्रिका दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री