काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ ।
यो अवस्थामा स्वदेश भित्रिएका ६४ हजार नेपालीको पहिचान भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २७ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।
भारत बाहेक तेस्रो मुलुकबाट हालसम्म नेपाल प्रवेश गरेका करिब ६४ हजार जनाको पहिचान भएको संघीय मामिला मन्त्री हृदयस त्रिपाठीले जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार उनीहरु सवै क्वारेन्टिनमा रहेका छन् ।
कोभिड १९ संक्रमण नियन्त्रण तथा उपचारका लागि सवै ७ सय ५३ वटै स्थानीय तह सक्रिय बताउँदै उनले प्राप्त स्रोत साधनको सदुपयोग गर्दै हरेक स्थानीय तहले क्वारेन्टिन निर्माण गरेको बताए ।
मन्त्री त्रिपाठीका अनुसार सम्पूर्ण तहमा एउटै कार्यविधि बनाएर कोष परिचालन, राहत संकलन र वितरण लगायतका काम भइरहेको छ । प्रत्येक प्रदेशमा उपसचिवलाई खटाएर राहत रकम वितरण लगायतबारे अनुगमन जारी राखेको बताउँदै मन्त्री त्रिपाठीले साढे २ लाख बढी परिवारलाई राहत वितरण गरिएको बताए ।
नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो । पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नौजनामा कोभिडको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।




