काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारलाई अमेरिकी सरकारले अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले तीन हजार मास्क, २ हजार ५ सय मास्क, दुई हजार जुत्ता ढाक्ने खोल, २ हजार १ सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिक र १० वटा थर्मो फ्ल्यास थर्मोमिटटर सहयोग गरेको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सचिव यादव कोइरालालाई यूयसएआइडीकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले ती सामग्री हस्तान्तरण गरेकी हुन् । यी सामग्री तोकिएका अस्पतालमा कोभिड १९ को आंशका गरी उपचार गरिरहेका स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् ।
यसअघि, ६ फागुनमा अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा चार सय थान र जैविक जोखिमका वस्तु बोक्ने झोला १ सय १० थान हस्तान्तरण गरेको थियो ।




