जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुनेभएको छ। नाम र राजधानी टुङ्गो लगाउन चार महिनापछि फागुन २३ मा प्रदेशसभा बैठक बस्न लागेको हो। सभामुख सरोज यादको संयोजकत्वमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन विशेष समिति गठन भएको थियो। तर उक्त समितिले पटक पटक बैठक बसेपछि सत्तारुढ र प्रतिपक्षले आ–आफ्नो अडान नत्यागेपछि सहमती जुट्न सकेन। सहमती नजुटेपछि भोटिङ मार्फत नाम र राजधानीको टुङगो लगाउन फागुन २३ गते प्रदेशसभा बैठक डाकिएको सभामुख सरोज यादवले जानकारी दिए।
उनले भने, ‘सोमवार समितिको बैठक बसेको थियो। तर आफ्नो अडान प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसले नत्यागेपछि सहमती जुट्न सकेन। त्यसैले मतदानबाटै टुङगो लगाउने निर्णय भएको छ।’ समितिले प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा सहमती भने जुटाएको छ। तर नामको विषयमा सहमती नजुटेपछि मतदान प्रक्रियाबाट पनि टुङ्गो लाग्ने सम्भावना न्यून देखिएको छ। नाम र राजधानी टुङ्गो लगाउन दुई तिहाई बहुमत चाहिने संवैधानिक व्यवस्था छ। राजधानी विषयमा सहमती जुटेकाले मतदान प्रक्रियाबाट टुङ्गो लाग्नेछ। नामको विषयमा भने सत्तारुढ र प्रतिपक्ष आ–आफ्नो अडान अनुसार मतदान गरेमा टुङ्गो लाग्न सक्दैन। सत्तारुढ राजपा र समाजवादी पार्टीले ‘मधेस प्रदेश’ नाम राख्नुपर्ने अडान सुरुदेखि नै राखेको छ।
तर काँग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र नेकपाले ‘जानकी’ राख्ने अडान कायम राखेको छ। केहि सांसदले भने मध्य मधेस नाम राख्ने प्रस्ताव समेत गरेका छन्। समितिको बैठकमा कांग्रेस र नेकपा लचकता देखाए। दुवै दलले मधेस शब्द स्वीकार गरे तर कांग्रेसले मधेसको अगाडि ‘मिथिला’ र नेकपाले ‘जानकी’ मधेसको अगाडी जोडेर नाम राख्न सकिने विकल्प अगाडी सारेका थिए। समाजवादी पार्टीले भने असहमती जनाउँदै ‘मधेस प्रदेश’ नाम नै राख्ने अडान नत्यागेपछि सहमती बन्न सकेन।




