काठमाण्डाै । चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि ती देशमा रहेका नेपालीको बारेमा चिन्ता बढेको छ ।
देश र विदेशमा रहेका नेपालीलाई अहिलेसम्म कोरोनाको सङ्क्रमण त भएको छैन तर जोखिम बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।
बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।
सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।
खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै नेपालीको सङ्ख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण फैलिएको छ ।
नेपालीको सङ्ख्या धेरै रहेको देशमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।




