काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन एक सय जना सवारी चालकमाथि सिसिटिभीमार्फत् कारबाही गरेको छ। उनीहरुलाई ट्राफिक प्रहरीले सोमबार कारबाही गरेको हो।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिसिटिभी राखी सवारी चालकहरुमाथि निगरानी राख्दै आएको छ। सिसिटिभी फुटेज हेर्दा ट्राफिक नियम उलंघन गरेका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। यसैक्रमम सोमबार काठमाडौं उपत्यकामा मात्र एक सय जनालाई कारबाही गरिएको हो।
ट्राफ्रिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा मात्र विभिन्न ट्राफिक नियम उलंघन गर्ने २ हजार ५२ जना सवारी चालकलाई कारबाही गरेको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८० जना, लेन मिच्ने २ सय ३५ जना, भाडाका कार तथा ट्याक्सी चालक ६० जना, जेब्राक्रसिङमा सवारी रोक्ने ६० जना, ट्रिपर चालक ३५ जना, फुटपाथमा पार्किङ गर्ने २ सय ६५ जना, निषेधित ठाउँमा हर्न बजाउने ५१ जना, अनाधिकृत पार्किङ गर्ने १ सय २७ जना र अन्य १ हजार ३९ जनालाई सोमबार कारबाही गरिएको छ।
सोमबार काठमाडौं उपत्यकामा ३९ वटा सवारी दुर्घटनाका घटना भएको जसमा ३० जना सामन्य घाइते र एक जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।




