काठमाडाैँ । सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेको कारबाही गर्ने जनाएको हो । सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तानी गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेर कारबाही गर्ने जनाएको हो।
‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ। ‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा जानकारीका लागि,’ सूचनामा उल्लेख छ। विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विदेशी विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ। यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ।
सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित पेमेन्ट गेटवे नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन्। उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई नेपालबाट अनौपचारिक माध्यमबाट पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ। राष्ट्र बैंकको सूचनासँगै युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो निर्माण गरी आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ।
युट्युबका लागि भिडियो उत्पादन गरी उक्त भिडियोमा युट्युबले विज्ञापन राखे त्यसबापत निश्चित प्रतिशत युट्युबले भिडियो निर्मातालाई उपलब्ध गराउँदै आएको छ। उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासोपछि राष्ट्र बैंकले औपचारिक माध्यमबाट भित्र्याउन सूचना जारी गरेको हो।




