स्याङ्जा । स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा ‘रामनदीधाम संस्कृत गुरुकुलम’ स्थापना गरी संस्कृत भाषा, व्याकरणसँगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा दिन थालेपछि विद्यार्थी गुरुकुलप्रति आकर्षित हुन थालेका गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताए ।
“गुरुकुल भन्नासाथै संस्कृतका कर्मकाण्डमात्रै सिकाउने गरिन्छ भन्ने मान्यता थियो”, प्रअ बस्यालले भने, “अबको युगमा कर्मकाण्डमात्रै होइन आधुनिक र समयसापेक्ष शिक्षा पनि सँगसँगै प्रदान गर्नु आवश्यक ठानेर हामीले संस्कृतसँगै आधुनिक शिक्षा प्रणालीको शुरुआत गरेपछि विद्यार्थी बढेका छन् ।”
नेपाल सरकारको मातहतमा रहने गरी गुरुकुल शिक्षा र वनकाली काठमाडौँमा रहेको संस्कृत विद्यालयको पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक निर्माण गरिएको गुरुकुलले जनाएको छ ।




