काठमाडाैँ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख-उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख आउने क्रम शुरु भएको छ ।
कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख-उपप्रमुख वीरेन्द्रनगर आइसकेका छन।कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि भोलि निर्वाचन हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली काँगे्रसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् ।
नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इञ्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख÷उपप्रमुख छन् । नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ ।
मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । यहाँ नेकपाको कूल मत तीन हजार ५६४ तथा काँगे्रसको ९९० मतभार रहेको छ । राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




