काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ पद त्याग गर्ने योजना प्रधानमन्त्री देउवाको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधान मन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरी पद त्यागको घोषणा गर्नेछन्।
‘सरकार गठनका बेला गरेका प्रतिबद्धताअनुसार नयाँ संविधानमा तोकिएका तीन तहका निर्वाचन सम्पन्न भएका छन्, प्रधानमन्त्री यसैका बारेमा राष्ट्रका नाममा सम्बोधन गरी बिदा माग्नुहुनेछ’, प्रवक्ता शर्माले भने, ‘आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै उहाँले सम्बोधन गर्नुहुनेछ।’ राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा पत्र बुझाउन प्रधानमन्त्री देउवा राष्ट्रपतिकहाँ जानेछन्।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बुधबार नै राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने तयारीमा प्रधानमन्त्री देउवा रहेको नेपाली बताए। ‘उहाँ राष्ट्रलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा हुनुहुन्छ। आयोगले आज समयमै राष्ट्रपतिकहाँ निर्वाचन परिणाम बुझाएमा प्रधानमन्त्रीले पनि राजीनामा दिनुहुन्छ’, पौडेलले भने, ‘नत्र भोलिलाई सर्न सक्छ।’
यता निर्वाचन आयोगले बुधबार नै प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार तोकिएको समय साँझ ५ बजेसम्म दलहरूबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची बुझाएमा आज नै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने छ।
‘आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछौँ’, प्रवक्ता ढकालले भने, ‘दलहरूले समयमा प्रतिवेदन बुझाएनन् भने आज नभ्याइन सक्छ।’
४९ वर्षको उमेरमा पहिलोपटक २७ भदौ २०५२ मा प्रधानमन्त्री निर्वाचित देउवा पछिल्लोपटक २३ जेठ ०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो सम्झौताबाट प्रधानमन्त्री चुनिएका थिए।
दोस्रोपटक ११ साउन ०५८ मा प्रधानमन्त्री बनेका देउवा २१ जेठ ०६१ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए।
प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।
अन्नपूर्ण पोस्ट्
प्रतिकृया दिनुहॊस