साग बेच्‍न पाएर किसान दंग, गुन्द्रुक बेच्दै सहकारी

बनेपा । करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार आम्दानी गरिन्। गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानीसमेत वृद्धि भएको छ। करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजारभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्।

उनले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन्। खेरजाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए। उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीन/चार सय किलो साग बेच्ने गरेको छन्।

जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्येयले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको शुरुआत गरेको हो। साग संकलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिइन्।

संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गरेको छ। सस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ। १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ। शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस