काठमाडौं–तराई मधेस द्रुतमार्ग : भौतिक प्रगति १५.८६ प्रतिशत सम्पन्न

काठमाडौं । काठमाडौं–तराई (मधेस) द्रुतमार्गको भौतिक प्रगति १५.८६ प्रतिशत सम्पन्न भएको छ । सेनाले राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा अहिलेसम्म भएको प्रगति विवरण सुनाएको हो ।

आयोजना उपप्रमुख विकास पोखरेलका अनुसार भौतिक प्रगति १५.८६ प्रतिशत र वित्तीय प्रगति १.२० प्रतिशत छ । रनिङ बिल फिल्डमा पठाउन बाँकी रहेको र एक महिनाभित्रै सबै भुक्तानी हुने उल्लेख गरे । खोकनामा ३ रोपनी ४ आनाको मुआब्जा वितरण भइसकेको छ भने बुङ्मतीमा ८ रोपनी ४ आना अधिग्रहण गरी मुआब्जा वितरण गर्न बाँकी रहेको उनले बताए ।

सेनाका अनुसार नयाँ जग्गाका लागि ३० दिनको सूचना जारी गरिएको छ । सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको निर्माण तीव्र गतिमा जारी छ । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य साथ सेनाले निर्माणको नेतृत्व गरेको हो ।

यो तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्ग हो । सुरुङ र पुलबाहेकको आयोजनाको भौतिक प्रगति ८० प्रतिशतनजिक पुगेको छ । जसका लागि सेनाले विभिन्न १० स्थानमा बेसक्याम्प निर्माण गरी काम गरिरहेको छ । सेनाले सडकतर्फको सबै काम चालु आवभित्रै सक्ने जनाएको छ ।

कालोपत्र गर्न मिल्ने सडक यही असार मसान्तभित्र सक्नेगरी काम जारी छ । सेनाले सुरुङमार्ग र पुल निर्माणका लागि प्रक्रिया थालेको छ । कुल लम्बाइमध्ये ५५.५२ किमि सडकमार्ग पर्छ । जसको ३१ किमि हिस्साको ८८ प्रतिशत र बाँकी खण्डको ८० प्रतिशत काम सकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री