भ्रमण वर्षको भव्य शुभारम्भ हुँदै, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडाैं । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउने घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच भ्रमण वर्षको औपचारिक शुभारम्भ हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

बुधबार अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट सुरु हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्ने छन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’ को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रूपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आएका छन् ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट,  र म्यानमारका यू ओन मौग काठमाडौँ आएका हुन् ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरू पनि काठमाडौँ आएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री