प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग : अध्ययन गर्न चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ । काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ ।

चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो । निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा सो प्राविधिक टोली नेपाल आएको हो । अध्ययनका लागि टोली एक महिनासम्म सोही सिलसिलामा नेपाल बस्ने जानकारी उनले दिए ।

सो टोली चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ । टोलीले तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप