काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । गएराति भएको खेलमा म्यानचेस्टरले लेस्टलाई तीन–एक गोल अन्तरले हरायो । घरेलु मैदान इतिहाद स्टेडिमयमा भएको खेलमा म्यानचेस्टरले लेस्टरको एक गोलको अग्रता उल्ट्यायो ।
खेलको २२ औं मिनेटमा जिमी भार्डीको गोलमा लेस्टरले अग्रता बनाएको थियो । तर त्यसपछि घरेलु टिम म्यानचेस्टरले लगातार तीन गोल गर्न सफल भयो । खेलको ३० औँ मिनेटमा महरेजले गोल गर्दै खेल बराबरीमा पुर्याए । उनले मेन्डीको पासको सदुपयोग गरेका थिए । ४३ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । जसलाई गुन्डोगनले गोलमा परिणत गरेपछि म्यानचेस्टरले खेल दुई–एकमा पुर्यायाे ।
पहिलो हाफमा एक गोलले अगाडि रहेको सिटीले ६९ औं मिनेटमा तेस्रो गोल गर्याे । यसपटक उसका लागि गाब्रियल जिससले गोल गरे । उनले केभिन डी ब्रुइनको पासको सदुपयोग गरे । त्यसपछि लेस्टर सिटी खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले लेस्टरलाई ठूलो धक्का पुगेको छ भने म्यानचेस्टरले लेस्टरसँगको दुरी एक अंकमा झारेको छ । लिगमा अपराजित लिभरपुल शीर्ष स्थानमा कायमै छ ।
प्रतिकृया दिनुहॊस