माथिल्लो अरुण जलविद्युत् आयोजना : निर्माण तयारी अन्तिम चरणमा

काठमाडौँ । सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो । सरकारी आयोजनाका रूपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो ।

यो योजनाको निर्माण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना मन्त्रिपरिषद्ले गत वर्षको असोजमा कम्पनी मोडेलमा बनाउने निर्णय गरेको थियो । माथिल्लो अरुण जलविद्युत् आयोजनालाई गेमचेन्जर आयोजनाका रूपमा पनि हेरिएको छ । सन् २०२२ को अन्त्यतिरबाट निर्माण थाल्ने र २०२७ को मेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी एक खर्ब ६० अर्ब रुपियाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत १५ करोड ८ लाख रुपियाँ हुन्छ ।

वार्षिक चार हजार ५१२ गिगावाट आवर विद्युत् उत्पादन हुने यो आयोजनाबाट सुक्खायामका चार महिनामा मात्रै २८ प्रतिशत विद्युत् उत्पादन हुनेछ । प्रतिवेदनअनुसार प्रतिवाट विद्युत् उत्पादन लागत ३.५ सेन्ट अमेरिकी डलर रहनेछ । त्यस्तै आर्थिक प्रतिफल दर १७.९ प्रतिशत र लागत प्रतिफल अनुपात लगानीको दोब्बर हुनेछ । आयोजनाको परामर्शदाता कम्पनी सीएसपीडीआर–सिनोटेक जेभीले मङ्सिर १३ गते निर्माण कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ ।

अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख रामचन्द्र पौड्यालका अनुसार यो आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । आयोजनामा ऋण लगानी गर्न विश्व बैङ्क तथा युरोपियन इन्भेस्टमेन्ट बैङ्क सकारात्मक छन् । विश्व बैङ्कले ५० करोड अमेरिकी डलर र युरोपियन इन्भेस्टमेन्ट बैङ्कले ३० करोड अमेरिकी डलरसम्म लगानी गर्न तयार रहेको आश्वासन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस