काठमाडौं । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ ।
विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्। ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् । ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन् ।
गाउँपालिका उपाध्यक्ष कमला तामाङका अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे सातामा दुई–तीनपटक मात्र कार्यालय आउँछन् र आएको दिन नआएका दिनको पनि हाजिरी गर्छन् । ‘मन्त्रालयले पठाएका कर्मचारीसँग काम गर्न सारै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी नियमित नआउँदा सेवाग्राही मर्कामा परेका छन् ।’
स्थानीय प्रकाश थिङले काम लिएर हप्तामा तीनपटक आउँदा एकपटक मुस्किलले कार्यकारी भेटिएको गुनासो गरे । ‘हाकिमको कुर्सी सधैं खाली हुन्छ,’ उनले भने, ‘प्रशासकीय अधिकृतबारे सोध्दा अरू कर्मचारी रिसाउँछन् ।’
कार्यालयमा नभेटिएपछि २६ कात्तिकमा फोन सम्पर्क गर्दा पाण्डेले आफू कार्यालयमै रहेको दाबी गरे । आफूहरूले कार्यालयबाटै फेन सम्पर्क गरेको बताएपछि उनले बोली फेरे । जोगिन खोज्दै उनले भने, ‘मैले सेवाग्राहीलाई मर्का पारेको त छैन नि !’
गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले कर्मचारीलाई मनाएर प्रशासनिक काम गर्न मुस्किल परेको व्यथा सुनाए । ‘कार्यालयका कागजात र निर्णयमा हामीले हस्ताक्षर गरेर हुँदैन,’ उनले भने, ‘कार्यकारी नियमित कार्यालय नआएकाले काममा बाधा परेको छ ।’
गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नजिकै बस्ने व्यवस्था मिलाइदिन खोजे पनि उनले अस्वीकार गरेको दाहालले सुनाए । पाण्डे पाहुना आएझैं कार्यालयमा आउने–जाने गरेको धेरैको गुनासो छ । गाउँपालिकाका एक जना कर्मचारीका अनुसार कात्तिकमा उनी आठ दिन मात्रै कार्यालयमा गए तर हाजिर चाहिँ महिनाभरिकै छ । नागरिक दैनिकबाट




